वीरगञ्ज, १० असोज ।
पर्साको जिराभवानी गाउँपालिका–२ स्थित सेढवा मिनी रंगशालामा ‘प्रथम जिराभवानी भेट्रान कप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ। जिराभवानी भेट्रान क्लबको आयोजनामा आगामी असोज २४ गतेदेखि ३१ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै स्थानीय समाजसेवी कृष्ण चौधरीले युवाहरूलाई कुलतबाट टाढा राख्दै खेलकुदतर्फ आकर्षित गर्ने मुख्य ध्येयका साथ प्रतियोगिता गर्न लागिएको स्पष्ट पारे। ४० वर्षभन्दा माथिका पुराना खेलाडीहरू मैदानमा उत्रिँदा नयाँ पुस्तामा पनि खेल क्षेत्रप्रति चासो र ऊर्जा थपिने विश्वास उनले व्यक्त गरे।
आयोजक क्लबका अध्यक्ष चक्रधारी चौधरीका अनुसार प्रतियोगितामा कुल १६ वटा भेट्रान टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ भने उपविजेता बन्ने टोलीले नगद २५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाउनुपर्नेछ।
Comments
Post a Comment