जनकपुरधाम, १२ असोज । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापनलाई अझ बढी सुदृढ, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। मधेस प्रदेशको पहिलो सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता (पीईएफए) मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न सोमबार प्रादेशिक राजधानी जनकपुरधाममा आयोजित विशेष समारोहमा सो प्रतिबद्धता व्यक्त गरिएको हो।
आर्थिक पत्रकार समाज नेपाल (सेजन), मधेस प्रदेश सरकार र एसियाली विकास बैंक (एडीबी) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिवेदन सार्वजनिक गर्नुभयो। सो अवसरमा बोल्दै मुख्यमन्त्री यादवले सीमित स्रोतसाधनको दक्ष तथा पारदर्शी उपयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। पीईएफए मूल्याङ्कन गर्ने मधेस देशकै दोस्रो प्रदेश बनेको जानकारी दिँदै उहाँले प्रतिवेदनले औँल्याएका कमजोरीलाई संस्थागत क्षमता अभिवृद्धि गर्ने अवसरका रूपमा लिइने स्पष्ट पार्नुभयो।
कार्यक्रममा अर्थमन्त्री युवराज भट्टराईले प्रतिवेदनले प्रदेशमा आर्थिक सुशासन कायम गर्न मार्गदर्शन गर्ने उल्लेख गर्दै नीतिगत तथा प्रणालीगत सुधारलाई प्राथमिकता दिइने बताउनुभयो।
त्यस्तै, एसियाली विकास बैंक (एडीबी) नेपालका निर्देशक अर्नोड कासोइसले मूल्याङ्कनले सङ्घीयता मजबुत बनाउन सहयोग पुर्याउने उल्लेख गर्दै प्राविधिक सहयोग निरन्तर रहने आश्वसन दिनुभयो। मूल्याङ्कन परामर्शदाता प्रकाशजङ्ग थापाले प्रतिवेदनले प्रादेशिक वित्तीय व्यवस्थापनका सुदृढ र सुधारयोग्य पक्षहरू स्पष्ट पारेको बताउनुभयो।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, सेजनका केन्द्रीय अध्यक्ष भागवत भट्टराई, विभिन्न मन्त्रालयका सचिवहरू तथा आर्थिक क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
Comments
Post a Comment