काठमाडौँ १० असोज ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किनुभएको छ। गत मङ्गलबार अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह महासभाको कार्यक्रम सम्पन्न गरी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो।
महासभालाई असोज ८ गते सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालका प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राख्नुभएको थियो। उहाँले भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनबाट उत्पन्न गम्भीर संकटका रूपमा प्रस्तुत गर्नुभएको थियो।
प्रधानमन्त्री शाहले न्यून कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको ठूलो असर भोग्नुपरिरहेको भन्दै जलवायु न्यायको आवश्यकता औँल्याउनुभयो।
जलवायु संकटले भौगोलिक सीमा नमान्ने उल्लेख गर्दै उहाँले हिमनदी पग्लिने तथा बाढी–पहिरोको जोखिमले नेपालसहित भारत र चीनलाई समेत प्रभावित गरिरहेको बताउनुभयो।
उहाँले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी हिमाली क्षेत्र, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित मुलुक र भावी पुस्ताको अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न राष्ट्रका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संघ–संस्थाका प्रमुखहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र सहकार्यका विषयमा छलफलसमेत गर्नुभएको थियो।
Comments
Post a Comment