वीरगञ्ज, ३० कात्तिक। तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ मनाउन देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू मधेस झरेका छन्। छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पत्नीसहित मधेस आएका छन्।
रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधाम पुगेका छन्। उनी जनकपुरको ऐतिहासिक गंगासागरमा छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि पत्नी सहित मधेस आएका छन्। उनी सर्लाही पुगेका छन्। सर्लाहीमा छठ पर्व मनाएपछि थापा वीरगञ्ज आउने कार्यक्रम रहेको छ।
यसैगरी, सभामुख डोलप्रसाद (डीपी) अर्याल पनि छठ पर्वको अवसरमा पर्सा आइपुगेका छन्। उनले वीरगञ्जको ऐतिहासिक घडीअर्वा पोखरीलगायतका छठघाटमा पुगेर पूजाको अवलोकन तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।
छठ पर्वको अवसरमा शीर्ष नेताहरूको मधेस आगमनले धार्मिक तथा सांस्कृतिक रौनकसँगै राजनीतिक चहलपहलसमेत बढाएको छ। मधेसको संस्कृति, पहिचान र जनभावनासँग जोडिएको छठ पर्वले राजनीतिक नेतृत्वलाई जनतासँग प्रत्यक्ष भेटघाट गर्ने अवसरसमेत प्रदान गरेको छ।
छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, आपसी एकता र भाइचाराको सन्देश दिँदै आएको छ।
Comments
Post a Comment