अमेरिका २५ कात्तिक ।
नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्टलाई अमेरिकी अदालतले दोषी ठहर गरेको छ।
भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार सम्पन्न सुनुवाइमा जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने कसुरमा दोषी ठहर्याएको हो। करिब पाँच घण्टाको छलफलपछि स्थानीय समय अनुसार साँझ ५ बजे अदालतले उक्त फैसला सुनाएको हो। फैसलासँगै सजाय सुनाइने दिनसम्मका लागि उनको धरौटी माग अस्वीकार गरिएको छ भने उनको सजाय आगामी २०२७ को मार्च महिनामा निर्धारण हुनेछ।
फैसला पछि प्रतिक्रिया दिँदै कमनवेल्थकी अभियोजनकर्ता एमी एशवर्थले यसले पीडित परिवारले दुई वर्षभन्दा बढी समयदेखि भोग्दै आएको पीडामा न्यायको दिशा देखाएको बताएकी छिन्।
मंगलबारको सुनुवाइमा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ डा. अबिगेल केर्न्स र नरेशका पूर्वसहकर्मी आकाश रचलाई प्रमुख साक्षीका रूपमा प्रस्तुत गरेको थियो। विशेषज्ञ केर्न्सले विषको रूपमा प्रयोग गरिएको भनिएको ‘सेल्फोस’ मा हुने एल्युमिनियम फस्फाइडको घातक असरबारे बयान दिएकी थिइन्। त्यस्तै, पूर्वरूममेट रचले सन् २०२१ मा नरेशले बन्दुक देखाएर आफू र आफ्नी पत्नीलाई धम्क्याएको घटनाको खुलासा गरेका थिए।
त्यस्तै, ममताकी निकट साथी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने प्रकृतिको मानिस नभएको र सन् २०२३ को डिसेम्बरमा उनको अनुहारमा चोटसमेत देखिएको अदालतलाई बताएकी थिइन्।
अभियोजन पक्षले यस मुद्दामा करिब १०० जना साक्षी र करिब ५०० वटा प्रमाण पेस गरेको थियो। यता, प्रतिरक्षा पक्षले भने अभियोजनले आरोप पूर्ण रूपमा पुष्टि गर्न नसकेको र नरेशले भनेझैँ ममताले आत्महत्या गरेको दाबी गर्दै आएको थियो। स्मरण रहोस्, सन् २०२४ मा ममता बेपत्ता भएपछि यो घटना बाहिर आएको थियो र अनुसन्धानपश्चात नरेशमाथि पत्नीको हत्या गरेको अभियोग लगाइएको थियो।
Comments
Post a Comment